८ कार्तिक २०८३, शनिबार

थप क्रूर बन्दै म्यानमारको सैन्य सरकार

  • १० साउन २०७९, मङ्गलबार
Image

बर्मा- म्यानमारको सैन्य सरकार थप क्रूर बन्दै गएको छ। सन् २०२१ को फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै म्यानमारको सेनाले कू गरेको थियो। त्यसको चर्को विरोध पनि भएको थियो। हालका दिनमा म्यामार सरकार थप क्रूर बन्दै गएको हो। 

म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको ठानिएको छ। भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई  'आतंककारी गतिविधि' गरेको आरोप लगाइएको थियो।

जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो। सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो।

आङ सान सू चीले नेतृत्व गरेको न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्ष फेब्रुअरीमा सत्ता लिएको थियो। सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो।

घटनाबारे प्रजातन्त्रवादी नेता सू ची निकै मर्माहत भएको एक स्रोतले बीबीसी बर्मेली सेवालाई बताएका छन्। यद्यपि उनले यस विषयमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिने क्रममा उनलाई पक्राउ गरेको थियो।

कूको विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ।

प्रजातन्त्रवादी व्यक्तित्व, सशस्त्र विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू सम्मिलित छाया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई 'अत्याचार र हत्याका लागि हत्यारा सैन्य जुन्टालाई सजाय दिन' आग्रह गरेको छ।

राज्यनियन्त्रित समाचारसंस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले ती चार जनालाई 'निर्मम र अमानवीय आतंककारी गतिविधिलाई निर्देशित र व्यवस्थापन गरेर षड्यन्त्र गरेका कारण' मृत्युदण्ड दिइएको बताएको छ।

समाचारमा उनीहरूलाई प्रतिआतंकवाद कानुनअन्तर्गत सजाय दिइएको बताइए पनि कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने स्पष्ट पारेको छैन।

संयुक्त राष्ट्रसंघका अनुसार म्यान्मारमा यसअघि सन् १९८८ मा झुन्डाएर मृत्युदण्ड दिइएको थियो। बीबीसी बर्माका अनुसार ती चार जनामा परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका छन्।

समाचारसंस्था रोएटर्सका अनुसार फ्योकी पत्नी थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताएकी छन्।

ती चार जनालाई गत ज्यानुअरीमा बन्द इजलासभित्र मृत्युदण्डको सजाय सुनाइएको थियो। मानवाधिकारवादी समूहहरूले सो सुनुवाइलाई अन्यायपूर्ण र अपारदर्शी भनेर आलोचना गरेका थिए। फ्यो र को जिम्मी नामले चिनिने क्यो मीन यु दुई जना जुन महिनामा पुनरावेदनमा हारेका थिए।

५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए। उनी सन् २०१२ मा निस्किनुअघि धेरै पटक प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका कारण जेल परेका थिए।

उनलाई गत वर्ष अक्टोबरमा याङ्गुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा गिरफ्तार गरिएको थियो।

सू चीसँग निकट मानिएका ४१ वर्षीय फ्यो एनएलडीका सांसद थिए। उनी हिपहप कलाकार थिए। फ्यो सैन्य शासकविरुद्ध कडा अभिव्यक्तिका कारण सेनाको निसानामा परेका थिए। उनलाई गत नोभेम्बरमा गिरफ्तार गरिएको थियो।

अन्य दुई जनाका बारेमा कमै जानकारी उपलब्ध छ। उनीहरूलाई सेनाको जासुस भएको आरोप लागेकी महिलाको हत्या गरेको आरोप लगाइएको थियो। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय 'व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको' बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर