मोरङ- प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नामकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। एमाले संसदीय दलको बिहीबारको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति बनाएको हो।
केही दिनअघि मुख्यमन्त्री राईले प्रदेश १ को सबैभन्दा ठूलो दल एमाले भएकाले नामकरणको नेतृत्व गर्न एमालेलाई आग्रह गरेका थिए। सरकारबाट हटेपछि नामकरणको विषयमा मौन रहेको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले नामकरण बारेमा छलफल गर्न तात्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीं संयोजक रहेको ५ सदस्यीय समिति बनाएको हो।
समितिका सदस्यहरूमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियैत, उषाकला राई र अर्जुन राईलाई राखिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए। समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दलहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ। प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनुपर्ने चौतर्फी माग उठेपछि नेकपा (एमाले)ले समिति बनाएको हो।
एमाले संसदीय दलको बैठकले प्रदेश सभाभित्र रचनात्मक भूमिका खेल्ने बारेमा पनि निर्णय गरेको राजभण्डारीले बताए। गठबन्धन सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रमको बारेमा एमालेले रचनात्मक भूमिका खेल्ने बारेमा छलफल भएको भण्डारीले बताए। एमालेले यसअघि मन्त्री रहेका ४ जना सांसदलाई संसदीय समितिमा पठाउने निर्णय गरेको छ।
तात्कालिन मुख्यमन्त्री शेरधन राईलाई सुशासन तथा योजना समिति, हिक्मत कुमार कार्कीलाई सार्वजनिक लेखा समिति, जगदीशप्रसाद कुसियैतलाई उद्योग पर्यटन तथा वातावरण समिति र जीवन घिमिरेलाई सामाजिक विकास समितिको सदस्यमा पठाउने निर्णय गरेको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation