एजेन्सी- सुडानमा भएको जातिय दङ्गाका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
'देशका केही ठाउँमा जातिय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्', सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ।
झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन् भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ परेका छन्।
सुरक्षा समितिले घटनास्थलमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ। ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो।
स्थानीय बेर्टी र हौसा जातिय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए।
अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो। सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation