काठमाडौं - संघीय संसद, प्रतिनिधि सभामा लामो समयपछि उपसभामुखको चयन हुने भएको छ।
उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।
प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ ।
शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा लामो समयदेखि उपसभामुख पद खाली छ।
तत्लकालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि शिवमाया तुम्बाहाम्फे उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन्।
शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्।
विपक्षी दलका नाताले उपसभामुख पदमा एमालेले स्वाभाविक दाबी गर्ने देखिन्छ।
सत्तारुढ दलमध्ये राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने बताइसकेको छ। नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलाबट उपसभामुख चुनिन पाउने छैनन्।
जसपा, लोसपा, कांग्रेस र एमालेमध्येबाट उपसभामुख चुनिनुपर्ने हुन्छ।
उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले देउवा सरकारले परिषदमा बहुमत पुर्याउन सत्ता गठबन्धनभित्रैबाट उपसभामुख छान्न लागेको हो।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation