काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन।
‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ। मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ।’
जापानका पूर्वप्रधानमन्त्री आवेको आज निधन भएको हो। शुक्रबार बिहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो।
गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो। स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको हो। अत्याधिक रगत बगेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation