काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा १० पृष्ठ लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन्। आइतबार प्रज्ञा भवन कमलादीमा सुरु उक्त बैठकमा अध्यक्ष प्रचण्डले माओवादीसहित अन्य दुई ठूला दलको पनि विश्लेषण गरेका छन्।
जसमा उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सहरको तुलनामा गाउँमा कमजोर देखिएको निष्कर्ष निकालेका छन्। उता प्रमुख प्रतिपक्षी नेकपा एमालेको भने गाउँ र सहर दुवैतिर अवस्था उस्तै रहेको कुरा उनले प्रतिवेदनमा उल्लेख गरेक छन्।
'नेपाली कांग्रेसको मतपरिणाम हेर्दा शहरको तुलनामा गाउँमा कमजोर रहेको देखिन्छ', वैशाख ३० गतेको मतको विश्लेषण गर्दै उनले भनेका छन्, 'नेकपा एमालेको मतपरिणाममा ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा खासै भिन्नता देखिँदैन। हाम्रो पार्टीको मतपरिणाम भने शहरको तुलनामा गाउँमा मजबुत देखिन्छ।'
उनले माओवादी गाउँमा बलियो बन्दै गइरहेको निष्कर्ष पनि प्रतिवेदनमा निकालेका छन्। यो राजनीतिक प्रतिवेदनमा प्रचण्डले पाँच दलीय गठबन्धनमा सबैभन्दा इमान्दार दल नेकपा माओवादी केन्द्र नै भएको उल्लेख गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation