चितवन- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्।
भरतपुर महानगरपालिकाले आज आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले सङ्घ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया टुङ्गोमा पुर्याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामुहिकतामा नै जाने बताए।
देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उनले भने, “अहिले पनि समस्या र चुनौति त छन्, यद्यपी गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ।” अहिले देशमा एक्लै हिड्ने प्रवृत्ति र मिलेर हिड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उनले बताए।
हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उनले भने, “हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ। अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ।” एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उनले बताए। स्टेर्ट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको उनले बताए।
अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताए। भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उनले यस अघि पहिलो प्रथामिकता सडक रहेको भन्दै अबको प्रथामिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताए।
विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमूना बन्ने उनको भनाइ थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation