काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग आइरहेको बताएका छन्। पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको उनले बताए।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने बताए। ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयका बारेमा कुनै छलफल भएको छैन।
यद्यपी पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो,’ उनले भने।
एकल र संयुक्त जुनसुकै सरकार बने पनि एउटै अनुहार मन्त्री बन्ने गरेकाले नयाँ अनुहारले भूमिका खोजेको उनको भनाई छ । ‘नेपाली कांग्रेसमा एकल सरकार बने पनि एउटै अनुहारले मन्त्री हुने। गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोलि गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो, केही नयाँ साथी आउलान् । नयाँ काम गर्लान्,’ उनले भने।
अहिलेसम्म औपचारिक रूपमा छलफल नभएको उल्लेख गर्दै थापाले सभापति आफै संसदीय दलका नेता भएकोले गर्दा मन्त्री परिवर्तन गर्ने नगर्ने उनकै निर्णयमा निर्भर हुने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation