काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरिरहेका बेला भारतीय आयल कर्पोरेसन (आइओसी)ले पुनः मूल्य बढाएर पठाएको छ। भारतले मूल्य बढाएर जुन १ (आज) नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी भइरहेका थियो। नेपालमा बिक्री हुने एक लिटर पेट्रोलियम पदार्थमा ५ रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। उक्त कर हटाएपछि प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने तयारी गरेको थियो। भारतले नयाँ मूल्यसूची पठाएपछि भने सरकारले फेरि बढाउनुपर्ने अवस्था आउनसक्ने जनाएको छ।
पछिल्लो मूल्यसूचीअनुसार नेपाल आयल निगमलाई थप भार पर्ने निगमको भनाइ छ। भारतले पठाएको सूचीअनुसार अब एक लिटर पेट्रोलमा निगमलाई २२ रुपैयाँ ९३ पैसा घाटा हुनेछ। नेपाली बजारमा एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ प्रतिलिटर छ। भारतले पठाएको नयाँ सूचीअनुसार एक लिटर पेट्रोलको लागत मूल्य २०२ रुपैयाँ ९३ पैसा हुन आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
यस्तै डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा हुने र एक सिलिन्डर ग्यासमा ७५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमको दाबी छ। हवाइ इन्धर र मट्टितेलमा भने केही नाफा रहेको निगमको भनाइ छ।
हालको मूल्यअनुसार निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड ६७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ। चालु आवको पहिलो १० महिनामा निगमलाई ४७ अर्ब नोक्सानी भएको उल्लेख गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation