काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलीय प्रतिस्पर्धा भएको भए, नेपालको सबैभन्दा लोकप्रिय पार्टी एमाले नै हुन्थ्यो भन्ने जनमतले प्रकट गरेको टिप्पणी गरेका छन्।
मदन आश्रित स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय मोर्चाबन्दीले एमालेलाई असफल बनाउने प्रयास गरेको पनि बताए।
‘पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गरेर असफल बनाउने प्रयास गरेको थियो,’ उनले भने, ‘हामीले त्यो प्रयासलाई पूर्ण रुपमा असफल बनाएका छौं। यद्यपी हामीले अपेक्षा गरे अनुसारको नतिजा पाएका छैनौं।’
दलीय प्रतिस्पर्धा भएको भए लोकप्रिय पार्टी एमाले नै हुने उनले दाबी गरे। ‘हामीले जनमत आफ्नो पक्षमा प्रभावित गर्ने कुरामा जुन मिहिनेत गर्यौं, त्यसबारे सत्ता गठबन्धनले पनि प्रत्यक्ष रुपमा अनुभूति गरेको छ,’ उनले भने, ‘नेपालमा दलीय प्रतिस्पर्धा भएको भए, नेकपा एमाले नेपालको सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुन्थ्यो भन्ने कुरा जनमतले प्रकट गरेको छ।’
प्राविधिक रुपमा निर्वाचनमा केही पराजय भोग्न परेको भएपनि जनमतको हिसाबले मुलुकको सबैभन्दा ठूलो पार्टीको रुपमा एमालेलाई स्थापित गर्न सफल भएको उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation