भैरहवा । कोभिडले थला परेको उद्योगी व्यवसायी बिस्तारै चलायमान हुन थाले पनि अघोषित लोडसेडिङको मारमा परेका छन् ।
अघोषित रूपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङ लगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।
विद्युत् अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधारण पनि सहज ढङ्गले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषित रूपमा भइरहेको लोडसेडिङले आम नागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रूपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताउनुभयो ।
दिनको समयमा पनि पटक–पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा माल वस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नु परेको उहाँले बताउनुभयो ।
“घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विद्युत् गएर ती वस्तु उत्पादन नभई फाल्नुपर्ने हुन्छ जसले लागत पनि बढेको छ”, अध्यक्ष न्यौपानेले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
रुपन्देहीका ३३ केभी ए विद्युत्बाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको सङ्घका एशोसियट सदस्य विकास गोयनकाले बताउनुभयो ।
यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति ठप्प हुने गरेको छ ।
विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताउनुभयो । “आएको विद्युत् वितरण गर्ने हो, उद्योगको माग अनुसारको आपूर्ति नभएकोले विद्युत् अनियमित हुने गरेको छ यो अघोषित लोडसेडिङ होइन”, उहाँले भन्नुभयो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation