८ कार्तिक २०८३, शनिबार

सिर्जनाले काठमाडौंको मुहार फेर्नुहुन्छ भन्‍ने एक हजार प्रतिशत विश्‍वास छ : आरजू राणा देउवा

  • १४ वैशाख २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले काठमाडौंको मुहार फेर्न र व्यवस्थित, सुन्दर र रहरलाग्दो काठमाडौं बनाउने भन्‍नेमा आफू एक हजार प्रतिशत विश्‍वस्त भएको बताएकी छन्। चाक्सीबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवा पत्‍नी आरजूले भनिन्, 'सिर्जनाजीले लौह पुरुष गणेशमानजीको घर त सहजै सम्हाल्नु भयो। दैनिक सयौं नेताहरुलाई बिहानदेखि बेलुकासम्म कसरी व्यवस्थापन गर्नुभयो होला? कति धैर्यता, संयमता र साहस चाहिएको थियो होला? एक सफल राजनीतिज्ञको घरको सही व्यवस्थापन गर्ने सिर्जनाले अब काठमाडौं महानगरको व्यवस्थापन गर्ने जिम्मा पाएको छ। अब सिर्जनाले काठमाडौंलाई मानिसहरु बस्‍न लायक बनाउने कुरामा सय प्रतिशतमात्र होइन, म एक हजार प्रतिशत विश्‍वस्त छु।' 

नेतृ आरजूले काठमाडौं महानगरले गरेका कामहरुको देशभरका स्थानीय तहले सिको गर्ने भएका कारण काठमाडौंलाई एक रोल मोडल बनाउनका लागि सिर्जनालाई मतदान गर्न पनि अपिल गरेकी छन्। उनले भनिन्, 'सिर्जना कांग्रेसको उम्मेदवारमात्र होइन कि सम्मपूर्ण नगरबासीको उम्मेदवार हो। उहाँलाई मतदान गर्न पार्टीको चिन्हमात्र हेर्ने होइन कि सम्पूरण नगरबासीलाई मतदान गर्न म अपिल गर्दछु।' 

सिर्जनाले कसैको श्रीमती भएका कारण मात्रै उम्मेदवार नपाएको कुरा पनि उनले स्पष्ट पारेकी छन्। थपिन्, 'सिर्जना गणेशमान र मंगलादेवीको बुहारी अथवा प्रकाशमानजीको श्रीमती भएका कारण मात्रै उम्मेदवार बन्‍नुभएको होइन। त्योभन्दा अघि नै उहाँ पूर्णकालीन राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँसँग आफ्नो विद्यार्थीकालदेखिको राजनीतिक अनुभव छ।'

पार्टीमा निकै अब्बल दाबेदारमध्येबाट पनि अब्बल दाबेदार भएका कारण सिर्जनालाई उम्मेदवार बनाएको उनले बताइन्। भनिन्, 'मनमा हात राखेर पार्टीको चिह्न मात्र होइन कि सिर्जनालाई हेरेर मतदान गर्नुस्। फलानोलाई टिकट दिने भन्दैमा तोकआदेश हुने कांग्रेस कुनै तानाशाही पार्टी होइन। पार्टीका नेताहरुबीच बृहत छलफल गरेर उहाँलाई टिकट दिएको हो। यो सहरलाई दीर्घकालसम्मका लागि सुन्दर र बस्‍न लायक बनाउनका लागि सिर्जनालाई मतदान गरौं।' 

प्रतिक्रिया

सम्बन्धित खवर