काठमाडौं- स्थानीय तह निर्वाचनको प्रभावकारी सुरक्षा प्रबन्धबारे आज केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकमा यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सुरक्षा निकायबाट बैठकमा उपस्थित भएका प्रमुख र प्रतिनिधिले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे अवगत गराएको बताए। निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।
बैठकमा मन्त्री खाणले सुरक्षा निकायका प्रमुखले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेबारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।
“निर्वाचन तयारीका सन्दर्भमा तपाईहरूले पेस गरेका योजना उपयुक्त छन्, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो”, गृहमन्त्री खाणले भने, “अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईहरू निर्वाचन सम्पन्न गर्न लाग्नु होला, हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।”
निर्वाचनमा आउन सक्ने चुनौति के-के हुन् र ती चुनौति चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री खाण सामु सुरक्षा निकायका प्रमुखहरूले आ-आफ्नो धारणा राखेका थिए।
बैठकमा मन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, गृहप्रवक्ता पोखरेलसहित सुरक्षा निकायका अन्य अधिकृत र गृह मन्त्रालयका पदाधिकारीको सहभागिता थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation