काठमाडौं- नेपाली कांग्रेस सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री खटाउने भएको छ।
कांग्रेस केन्द्रीय नैनसिंह महरका अनुसार केन्द्रबाट सबै प्रदेशमा सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिएर पठाउने, प्रदेशबाट ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाउने र चुनाव परिचालनलाई प्रभावकारी बनाउने केन्द्रीय परिचालन समितिको शुक्रबारको बैठकले निर्णय गरेको हो।
सहमहामन्त्रीले प्रदेश र जिल्लासँग समन्वय गर्नुका साथै केन्द्रबाट ७७ जिल्लाका लागि तोकिएका प्रतिनिधिसँग समेत समन्वय गर्ने बताइएको छ।
सहमहान्त्रीले केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्लामा गठबन्धन गर्ने क्रममा आएका समस्या समाधान गर्नेछन्। सातै प्रदेशमा उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ।
ति समितिहरु स्थानीय तह निर्वाचन परिचालन समिति अन्तर्गत रहने छन्। जसले जिल्ला र पालिकामा निर्वाचनका लागि कार्यकर्ता परिचालन गर्ने छ। त्यस्तै बैठकले कांग्रेसले चुनाव प्रचारप्रसारमा गर्ने गतिविधिमा आचारसंहिता पालना गर्न निर्देशन गर्दै अनुगमन समिति गठन गरेको छ।
उक्त समितिले अन्य पार्टी र उम्मेदवारले समेत आचारसंहिता मिचेको भए त्यसको अनुगमन गरी रिपोर्टिङ गर्ने छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति र त्यसको आधारमा भएको सत्ता गठबन्धनको निर्णयबमोजिम गठबन्धनलाई थप प्रभावकारी बनाउने गरी चुनाव परिचालनलाई अघि बढाउन निर्देशन गरेका छन्।
केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन दायित्व नै भएको समितिका संयोजक खड्काले बताए। गठबन्धन तोड्ने विषयलाई पार्टी अनुशासन भंग गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation