विराटनगर- पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी) का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ।
तर चरम आर्थिक सङ्कट भने आइसकेको छैन् ।” पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचन सर्ने हल्लामा कुनै सत्यता नरहेको बताए । उनले वर्तमान स्थितिमा मुलुकलाई गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय स्तरमा गठबन्धन गरी निर्वाचनमा जाने बताए।
उनले मुलुकलाई सही दिशामा ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको चर्चागर्दै आगामी निर्वाचनमा सत्तामा रहेका दलहरुबीच गठबन्धन गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे। नेता खनालले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीयस्तरमा उच्च स्तरीय गठबन्धन कमिटीले गठन गरेर मार्गदर्शन तयार गर्ने र सोही अनुसार जिल्ला र क्षेत्रमा स्थानीय तहमा गठबन्धनका विषयमा निर्णय गर्ने बताए।
खनालले निर्वाचनका लागि बन्ने गठबन्धन र तालमेल एउटै भएको प्रस्ट पारे। उनले केन्द्रीय स्तरमा गठबन्धनबीच आपसी निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको घोषणा हुने भन्दै नेकपा एकीकृत समाजवादीले कति महानगरपालिकामा प्रमुख, उपप्रमुखको उम्मेदवार दिने सम्बन्धमा गठबन्धन दलबीच छलफलपछि निर्णय हुने जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation