८ कार्तिक २०८३, शनिबार

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

  • २१ चैत २०७८, सोमबार
Image

काठमाडौं- भारतको तीनदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। देउवा आइतबार साँझ नयाँ दिल्लीबाट विमानमार्फत काठमाडौं आइपुगेका हुन्।


भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान अन वान’भेटवार्ता गरेका थिए। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री  देउवाले सीमा समस्याबारे कुरा समेत कुरा उठाएका छन्।

देउवाले भारतलाई सीमा समस्यालाई संयुक्त संयन्त्र मार्फत् हल गर्न आग्रह गरेका हुन्। गत वर्ष ७ जेठमा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल-भारतबीच उच्च तहमा औपचारिक भेटवार्ता भएको थिएन। नेपाली भूमि पुष्टि हुँदाहुँदै वर्षौंयता कालापानीमा भारतीय सैनिक खटिएका छन्।

भारतले नेपाललाई जानकारी नगराई लिम्पियाधुरा, कालापानी र लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि नेपाल-भारतको सीमा विवाद सतहमा आएको छ। देउवाको भ्रमणपछि भारत छलफल गरेर सीमा विवाद हल गर्न तयार भएको छ।

यस्तै देउवा-मोदीको उपस्थितिमा नेपालका ४ वटा परियोजना उद्घाटन तथा हस्तान्तरण भएको छ। जनकपुर (कुर्था) जयनगर (भारत) जोड्ने रेल सेवा शुभारम्भ भएको छ। दुवै प्रधानमन्त्रीले भर्चुअलमाध्यमबाट ३४ दशमलब ९ किमि लामो रेलमार्गको उद्घाटन गरे। भारतीय सहयोगमा निर्मित सीमापार रेल सञ्चालनका लागि नेपालले २ वटा रेल किने पनि लामो समयदेखि औपचारिक शुभारम्भ हुन सकेको थिएन।

रेल्वे सेवासँग जोडिएको प्राविधिक पक्ष सम्बोधन गर्न रेल्वे प्राविधिक सहकार्यसम्बन्धी सम्झौता भएको छ। भारतीय सहयोगमा निर्मित १३२ केभी क्षमताको सोलु करिडोर नेपाललाई हस्तान्तरण भएको छ। भारतको २ अर्ब २० करोड रुपैयाँको सहुलियत ऋण सहयोगमा निर्मित सोलु करिडोर ९० किलोमिटर लामो छ।

साथै, नेपाल र भारतबीच पर्यटकलाई लक्षित गरेर ‘रुपे कार्ड’ सञ्चालनमा ल्याइएको छ। भूकम्पपछि नेपालका विभिन्न भेगमा निर्माण भएका १३२ वटा स्वास्थ्य संस्थाका भवन र पूर्वाधारको भर्चुअलरूपमा अवलोकन गर्दै नेपाललाई हस्तान्तरण गरिएको छ। नेपाल सोलार एलायन्सको सदस्य भएको छ।

दुवै देशबीच शनिबार एलायन्समा नेपाल प्रवेश गर्नेसम्बन्धी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षरसमेत भएको हो। भारतीय आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसनबीच प्राविधिक विज्ञ आदानप्रदान गर्ने विषयमा २ वटा सम्झौतापत्र आदानप्रदान भएको छ। शनिबार भेटघाटमा व्यस्त प्रधानमन्त्री देउवा आज धार्मिक नगरी वाराणसी पुगेका थिए। देउवाले वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन्।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि देउवाले भेट गरे। देउवाको भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेका थिए। भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।  देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर