काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त बनाउनका लागि बौद्ध दर्शन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन्।
प्रधानमन्त्री देउवाले बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्ने बताए। जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको भन्दै उनले संकट आउनु भन्दा अघि नै कदम चाल्नु पर्ने बताए।
प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, 'जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ। फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ।' दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रमहरू कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए।
'यो अति कम विकसित मुलुकबाट माथि उक्लिएको नेपालजस्ता देशका लागि यो निकै महत्त्वपूर्ण हो,' प्रधानमन्त्री देउवाले भने ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation