कैलाली- धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन्। आजको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।
आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । उक्त खेलका ‘म्यान अफ द म्याच’ आर्मीका मानबहादुर श्रेष्ठ भए।
आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। पहिलो सेट २५–१६ मा र दोस्रो सेट २५–१९ मा जितेको पुलिस क्लबले तेस्रो सेट २२–२५ मा तथा चौथो सेट २३–२५ ले गुमाएको थियो। पाँचौ सेट १५–१२ ले जित्दै पुलिस क्लब फाइनलको यात्रा तय गरेको हो। खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका रविन चन्द भए। फाइनल प्रतिस्पर्धा शनिबार बिहान हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation