काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड-१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे।
आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो।” हरेक नेपालीलाई कोभिड-१९ विरुद्धको खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको उनको भनाइ थियो। स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवबाट सहयोग पुग्नुपर्ने प्रधानमन्त्री देउवाले बताए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ बनाउनुपर्ने धारणा राखे। तनहुँमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दीए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशी तथा बाह्य लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै वर्तमान सरकार विकास र समृद्धिको पक्षमा लागिपरेको बताए। वैदेशिक रोजगारीमा भएका बेथिती हटाउन आफू लागि परेको बताउँदै मन्त्री श्रष्ठले देशभित्रै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation