८ कार्तिक २०८३, शनिबार

झडपका क्रममा महिला प्रहरीको मृत्यु भएपछि मोरङमा अनिश्‍चितकालीन कर्फ्यु

  • ७ चैत २०७८, सोमबार
Image

काठमाडौं- मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरिएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘अहिले बिहान ७ बजेदेखि लागु हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर वडामा कर्फ्यु लगाएका छौं।’

मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। घाइतेहरुलाई उपचारार्थ कोशी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए।

घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।

सोही तनाव नियन्त्रणका लागि खटिएको प्रहरी टोलीलाई आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो। आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको एसपी राईले जानकारी दिए।


प्रतिक्रिया

सम्बन्धित खवर