८ कार्तिक २०८३, शनिबार

विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन खोजे : प्रचण्ड

  • ३० फागुन २०७८, सोमबार
Image

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था ल्याउन लागिरहेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे।

तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन्। ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीलाई सिद्ध्याएर  दुई दलीय प्रणाली स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ नजिते हाम्रो पार्टी र उम्मेदवारले मात्रै हार्ने होइन, नेपालले नै हार्छ।’ माओवादी हारे जनक्रान्तिका उपलब्धी र समावेशी, समानुपातिक लोकतन्त्र हार्ने जिकिर उनले गरे।

विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ छ । उनले माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउनसक्ने बताए। प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको पनि बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर