किभ- युद्ध सुरु हुन अगाडि गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलर सोल्जबीच प्रत्यक्ष कुराकानी भएको थियो। त्यसपछि शुक्रबार युद्ध रोक्न आग्रह गर्दै संवाद भएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले युद्ध रोक्न आग्रह गरेका छन्।
जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले युक्रेनमा भइरहेको रुसी आक्रमण तत्काल बन्द गर्न आह्वान गरे।
साथै उनले पुटिनलाई लडाइँ चर्किएका ठाउँमा मानवीय सहयोगका निम्ति पहुँच स्थापित गर्न पनि आग्रह गरेको बताइएको छ।
एक घण्टा लामो कुराकानीमा दुवै नेताले थप कुराकानी गर्न सहमति जनाएको प्रवक्ताले बताएका छन्।
रुसले युक्रेनमा क्लस्टर बमको प्रयोग गरिरहेको छ – नेटो
उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन अतिक्रमणमा क्लस्टर बमको समेत प्रयोग गरेको प्रमाण रहेको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने,“हामीले क्लस्टर बम प्रयोग भएको देखेका छौँ। साथै अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य किसिमका अस्त्रको प्रयोग भएको पनि हामीले विवरण पाएका छौँ।”
उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा ‘उडान प्रतिबन्धित’ क्षेत्र लागु नगराउने भनेका छन्। साथै त्यहाँ आफ्नो फौज पनि नपठाउने उनले बताए।
तर किभलाई अरू तरिकाबाट मद्दत गर्ने उनले वाचा गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल अतिक्रमण अन्त गर्न आह्वान गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation