८ कार्तिक २०८३, शनिबार

युद्ध अन्त्येष्टि

  • २० फागुन २०७८, शुक्रबार
Image

म चाहन्छु 

तत्क्षण नै अन्त्य होस् 

वमवर्षक त्रासदी

अन्त्य होस् 

मानव संहारको अनाधिकृत युद्ध

उठाउनु नपरोस् जेलेन्स्कीसँगै

तमाम मान्छेले बन्दुक


युद्धको महासग्राममा

छातीमा ग्रेनाइट थापेर 

मर्ने सपूतका नाममा

झार्नु नपरोस् आँशुका फूलहरू 

हेर्न नपरोस् आँखाले

मानवता पुरिएर

अग्लिएको लाशको पिरामिड

सुन्न नपरोस्  मिसाइलको चर्को आवाज

हेर्न नपरोस् आकाशमा मानिसले 

बिषाक्त रकेटको धुवा 


पूर्वनियोजित,अप्रत्याशित 

मुर्खतापूर्ण युद्धमैदानमा

रगतको बाढी बगेको

देख्न सक्दिनन् आकाश

लेख्न सक्दैनन् हातहरू

हरियो सपना धुवामा उडेको कविता 


युक्रेनी राष्ट्रिय गीतको बोलले

गाइरहेको छ - "युक्रेन अझै नष्ट भएको छैन"

युद्धले नष्ट हुदैछन् सभ्यताहरू

उजाडिएका छन् गाउँ,बस्ती र शहर 

पेट रोएकोछ,मन पोलेको छ

मौन रहदा "नेटो" 

समयले नेटो काट्यो भने को होला ?


गर्भको बच्चासग आशिष थापेर

युद्धमा होमिएका युक्रेनीहरू

शान्ति सेनाका नाममा अशान्त,अधिर रुसी 

क्रुर पुटिनका अवशेष 

आखिर के का लागि उठाइरहेका छन हतियार 

आफै रनभुल्ल छ युद्धमा युद्ध 


रुवाबासी,कोकोहोलो,अशान्ति 

मृत्युपीडा,मृत्युभय

त्रास नै त्रासको सन्त्रासमा

रोएर बसेका आमाका आङमा

कहिले उदाउँला घाम

कहिले सुक्ला आँसु

कहिले सकिला 

खरानी पोको पारेर

नदिमा बगाउने दिन

कहिले होला युद्धको अन्त्य ?

( रुस-युक्रेन युद्ध तत्काल अन्त्यको कामना । विश्व शान्तिको चाहना । -ऋषभदेव घिमिरे)

प्रतिक्रिया

सम्बन्धित खवर