काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्।
शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आउन सक्ने बताएका हुन्।
एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए। अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेको भनाइ थियो।
नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सक्ने तर्क गरे।
'अहिले प्रसंगवस आइरहेको एमसीसी कतै अन्तरराष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ क्राइसिसतर्फ देश जाने त होइन? यस तर्फको तपाईंहरूले यसका प्रभावको बारेमा अध्ययन गर्नु पर्ने खाँचो देखिरहेको छु' उनले भने।
यो ५५ अर्ब नलिने कुरासँग केही छैन भन्दै उनले भने,'तिमीले लिएनौं मैले दिन्न मैले अन्त बाँडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने नो प्रश्न। त्यसले ठूलो नोक्सानी केही हुँदैन तर यहाँ नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागाधरो भने बुझ्नुस् हामी जोखिम र संकट तर्फ प्रवेश गर्यो। अमेरिकासँगको कुरामा डिल गर्ने कुरा भनेको त्यस्तै हो। एमसीसीको कज हेरेर अमेरिका हिड्दैन। उसलाई आउनै पर्यो भने कज नै हेर्दैन। अफगानस्थान आउँदा पनि कज हेरेको होइन उसले। इराकमा जाँदा पनि त्यसले हेरेको थिएन। उसलाई त्यो सँग केही सरोकार छैन।'
कतिपयलाई सम्झौता अनुसार अमेरिका नेपाल आउँछ भन्ने लागेको तर त्यो गलत भएको उनको भनाइ छ। नेपालले करिब १५ वटा देशबाट रेमिट्यान्स भित्र्याउने र ति देशहरू कुनै न कुनै रुपले विश्व शक्ति राष्ट्र अमेरिका निकट रहेकोले गर्दा नेपालमा यसले प्रभाव पार्ने त होइन भन्ने उनले आशंक व्यक्त गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation