काठमाडौं । ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले फिलिपिन्समाथि शानदार जित दर्ता गरेको छ। ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
योसँगै नेपालले लगातार दोस्रो जित हात पारेको छ। यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपाल अंकतालिकामा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ। क्यानडा र ओमानको समान २-२ अंक भएपनि रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ। दुवै खेल हारेको फिलिपिन्स पुछारमा छ । नेपालले पहिले ब्याटिङ गदैै दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो। फिलिपिन्सका जोर्ड अलेग्राले ३२ बलमा २ चौकासहित २७ रन जोडे। यस्तै डानियल स्मिथले २७ बलमा २ चौकासहित २० तथा जोनाथन हिलले २९ बलमा ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए। त्यसअघि ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे। योसँगै उनी उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनको छन् ।
उनीअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए । कुशलसँग तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीले १७१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स अघि बढाएका थिए। दीपेन्द्रले ४७ बल खेल्दै ८३ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे। योसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने । नेपालका कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए।
यस्तै लोकेश बम ६ रनमा नटआउट रहे । फिलिपिन्सका ड्यानियल स्मिथ, मिगी पोडोस्की र गुरभीपिनदर चोहानले १-१ विकेट लिए । अब अन्तिम खेलमा नेपालले सोमबार क्यानडाको सामना गर्नेछ। अंक तालिकाको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation