काठमाडौं- मंगलबार मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ। शव पोष्टमार्टमका लागि मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार ती सबै शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिनेछ।
मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९–एन–एमभी कलसाइन रहेको हेलिकोप्टर दुर्घटनामा परेको थियो। सो हेलिकोप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको र तत्पश्चात् सम्पर्कमा आउन सकेको थिएन।
पछि लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनाग्रस्त हेलिकोप्टरबारे स्थानीयले खबर सम्प्रेषण थिए। दुर्घटनामा परेको सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। उनीहरु सबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन्। त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation