८ कार्तिक २०८३, शनिबार

कांग्रेस प्रचार विभागको निर्णय : सार्वजनिक स्थानमा नीति र नेतृत्वको विरोध नगर्ने

  • १८ असार २०८०, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध नगर्ने निर्णय गरेको छ। विभागको सोमबार बसेको बैठकले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो। 

त्यसैगरी सरकारले अहिलेसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुर्‍याउने निर्णय गरेको छ। विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा ३५ जना सदस्यले आफ्ना धारणा राखेका थिए।

यी हुन् बैठकका निर्णय

१. नेपाली कांग्रेसका सभापति मा शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद  ज्ञापन गरियो।

२‍. नेपाली कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुन्याउने।

३. पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने।

४. विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने।

५. विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने।

६. विभागको आफ्नै वेबसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने।

७. विभागको कामलाई प्रभावकारी बनाउन तपशिल बमोजिम निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले आजका मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने। निर्देशिका मस्यौदा समितिमा संयोजक दिपकप्रसाद कुईकेल र सदस्यहरु गोविन्द परियार, गणेश के.सी., लिला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाई रहने छन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरु तिलक राई, उमिद वागचन, ई. हुकुम बुढा, विष्णु तिम्सीना, राघव गौतम र रम्भा मिश्र रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर