९ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको अन्त्यष्टि

  • ९ असार २०८०, शनिबार
Image

काठमाडौं- सवारी दुर्घटनामा दिवंगत सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अन्त्यष्टि गरिएको छ। मन्त्री सिंहसहित गाडी दुर्घटनामा मृत्यु भएकी उनकी पत्नी अमृता र भाउजू जया सिहंको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा अन्त्यष्टि गरिएको हो।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोरा आदेशले दिउँसो करिब दुई बजे दागबत्ती दिए। अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो। धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंहसहित तीनै जनाको विदेशमा रहेका जेठा छोरा आएपछि मृत्यु भएको पाँचौँ दिन आज चैनपुरमा अन्त्यष्टि गरिएको हो।

अन्त्यष्टि अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली कांग्रेस पार्टीमा राखिएको थियो। पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा नेपाल सरकारका परराष्ट्रमन्त्री एन पी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली कांग्रेस तथा विभिन्न दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण, शभुेच्छुक र आफन्तहरूले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। 

मुख्यमन्त्री शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री सिंहको निधनले सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिमलाई अपूरणीय क्षति भएको बताए। मुख्यमन्त्री शाहले मन्त्री सिंहको निधनबाट देशले एक लोकतान्त्रिक योद्धा र असल नेता गुमाएको बताए। स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा अन्त्येष्टि अघि नेपाली राष्ट्रिय झण्डा र पार्टीका तर्फबाट चार तारे झण्डा ओढाइएको थियो।

स्वर्गीय मन्त्री सिंहको शवयात्रा र अन्त्येष्टिमा मानव सागर उर्लिएको थियो। मन्त्री सिंहको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति, सुदूरपश्चिम प्रदेश सरकार, नेपाली कांग्रेसका नौ वटै जिल्लाका नेपाली कांग्रेसका पार्टी कार्यालय, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायतले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर