काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालआज (बिहीबार) वेस्ट इन्डिजको सामना गर्दैछ। जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबको खेल मैदानमा यी दुई टोली बीचको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुने छ।
यसअघिका २ खेलमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेको नेपाल आज तेस्रो जित हात पार्न चाहन्छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई पराजित गरेको थियो। वेस्टइन्डिज २ पटकको एकदिवसीय विश्वकप विजेता हो। नेपालले कुनै पनि विश्वकप विजेतासँग पहिलोपटक खेल्ने अवसर पाएको हो।
यस अवस्थाले पनि बिहीबारको खेल नेपालका लागि ऐतिहासिक हुनेछ। उता बलियो टोली वेस्टइन्डिज नेपाललाई पराजित गरेर सुपर सिक्सको सम्भावनालाई बलियो बनाउन चाहन्छ। वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो। ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छ। आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्।
वेस्टइन्डिजको कमान शाई होपले सम्हाल्नेछन्। समूह चरणको अन्तिम खेलअन्तर्गत नेपालले नेदरल्याण्डस्सँग २४ जुन अर्थात् असार ९ गते खेल्नेछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये शीर्ष २ टोली एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation