काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुतको तयार गरिरहेका छन्।
बजेटको संघारमा गठबन्धन दलका नेताबीच भने असन्तुष्टि चुलिएको छ। माओवादीका प्रदेश उपाध्यक्ष मानसिंह मालले बजेट प्रस्तुतपछि सरकार परिवर्तनको संकेतसमेत दिएका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले बजेटपछि सरकार तलमाथि भए आश्चर्य मान्नु नपर्ने बताएका छन्।
‘सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेश सरकारको आज प्रस्तुत हुने आव २०८०/०८१ को बजेट निर्माणदेखि लिएर विभिन्न कुराहरूमा एकल सरकारको जस्तो झल्को महसुस। अब सत्ता साझेदार दलहरूकै लागि नखाऊ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहारजस्तै हुने निश्चित छ ’, उनले लेखेका छन्, ‘बजेटपछिको अवस्थामा सुप प्रदेश सरकारमा तलमाथि भए आश्चर्य मान्नुपर्ने छैन।’
उनले अहिलेकै अवस्थामा बजेट पारित हुन सक्ने सम्भावना क्षीण रहेको समेत बताए।
‘मन्त्रीहरू नै सन्तुष्ट छैनन्। माननीय पनि सन्तुष्ट छैनन्। सुझाव कार्यान्वयन भएको छैन। अर्थमन्त्री र मुख्यमन्त्री हाबी भएको आरोप छ ’, उनले भने, ‘यही अवस्थामा बजेट पारित हुने सम्भावना न्यून छ। बजेट पारित नभए सरकारले नैतिकताको आधारमा छोड्नुपर्छ। ’
माओवादी नेता मालले प्रदेशसभा सदस्यहरूसँग पर्याप्त छलफल भएपनि बजेटमा ती विषयहरू नसमेटिएको गुनासो गरे। माओवादी प्रमुख सचेतक तथा पूर्वमन्त्री मानबहादुर धामीले पनि बजेट प्रस्तुत नहुँदै विरोध सुरू भइरहेको संकेत गरेका छन्।
‘हामीले पटक पटक छलफल गरेका थियौं। तर, त्यो अनुसार बजेट नआउने देखिएको छ ’, उनले भने, ‘कि सांसदलाई प्राथमिकतामा राख्नु पर्ने थियो कि स्थानीय तहमा पनि सर्वदलीय र सर्वपक्षीयरूपले योजना माग गरिनुपर्ने थियो।’
सरकार नै गम्भीर नभएको हुँदा आगामी आर्थिक वर्षको बजेटको दुरुपयोग हुनसक्ने उनले बताए। आगामी आर्थिक वर्षको बजेट घटेर आउन लागेको विषयमा पनि उनले विरोध जनाए।
‘वृहत् ढंगले छलफल गरेर अगाडि बढ्नु पर्ने थियो। बजेट घटेर आउँदै छ भन्ने सुनेका छौँ’, उनले भने ‘संघीय सरकारले उस्तै बजेट ल्यायो। हाम्रो प्रदेशमा मात्रै बजेट घट्नुको कारण के हो बुझ्न सकिएन। पुरानै अवस्थाको बजेट ल्याउनु पर्ने थियो। सत्ता साझेदार दलहरूसँग पनि समन्वय भएन।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation