९ कार्तिक २०८३, आइतबार

भ्रष्टाचार गर्ने कम्युनिस्ट नेताका सुरु भए दिनगन्ती, २०४६ पछि पक्राउ पर्ने टोपबहादुर पहिलो

  • २ जेठ २०८०, मङ्गलबार
Image

काठमाडौं- मुलुकमा व्याप्त आर्थिक संकटका बीच आएको नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित बनेको छ। नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुल गरेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यसमा नेपाली कांग्रेसका नेता तथा पू्र्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित पक्राउ परेका छन्। यसमा नेकपा एमालेकै नेता पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र खाण पत्‍नी मञ्‍जु खाणको संलग्‍नता रहेको विषय पनि बाहिरिएको छ। 

२०४६ सालपछि कम्युनिस्ट नेता भ्रष्टाचार मुद्दामा पक्राउ परेको भने यो पहिलो पटक हो। २०४६ सालयता कम्युनिस्ट नेताहरु केपी शर्मा ओलीदेखि गोकुल बाँस्कोटासम्म विभिन्‍न चरणमा विभिन्‍न व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा लागे पनि पक्राउ नै परेको भने यो पहिलो पटक हो। 

वामदेव गौतमलाई सुन ओसारेको आरोप लागेको थियो भने ईश्‍वर पोखरेलको पानी ट्यांकीमा भ्रष्टाचार गरेको पैसा लुकाएको आरोप लागेको थियो। विष्णु पौडेललाई ललिता निवासको सरकारी जग्गा निजीकरण गरी अनियमितता गरेको आरोप लागेको थियो भने गोकुल बाँस्कोटालाई प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको भ्रष्टाचार गरेको आरोप लागेको थियो। 

यी सबै आरोपहरुको निष्पक्ष छानबिन भन्दा पनि आरोपितहरुको संरक्षणमा अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेलेका थिए। पछिल्लो समय पनि टोपबहादुरको ओलीले बचाउ गरे पनि उनी भने आइतरबार राति पक्राउ पूर्जी जारी भएको २० दिनपछि पक्राउ परेका हुन्। 

शरणार्थी समस्याको दिगो समाधानका लागि भन्दै गृह मन्त्रालयबाट कार्यदल गठन हुनुभन्दा अघिदेखि नै एमाले नेता टोपबहादुर रायमाझीको ठगी गिरोहमा संलग्नता देखिएको प्रहरीले जनाएको छ। योजनादेखि नै उनले त्यसमा आफूहरूलाई सघाउँदै आएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन्।

‘कार्यदल गठनको योजनाकार नै उनी भन्ने बुझिएको छ,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘सुरुदेखि नै उनले यसमा सहयोग गर्दै आएका छन्।’ गृहमा बिचौलियालाई लिएर गई उच्च अधिकारीलाई समेत भेटाउने गरेका थिए। 

२०४६ सालपछि नेपाली कांग्रेसबाट भने भ्रष्टाचार मुद्दामा खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्‍जिवी वाग्‍ले, गोविन्दराज जोशी, विजयकुमार गच्छदारलगायतहरु पक्राउ परी जेल सजाय भोगेका थिए। 

विगत तीन दशकमा विभिन्‍न विषयमा भ्रष्टाचार गर्ने कम्युनिस्ट नेताहरुका अब दिनगिन्ती सुरु भएको विश्‍लेषणहरु भइरहेका छन्। नेपाली नागरिकता त्यागेर शरणार्थी बनाउनेजस्तो जघन्य अपराधमा संलग्‍न हुने जोकोहीलाई पनि कानुनी दायरमा ल्याउनुपर्ने माग सडकदेखि सदनसम्म उठिरहेको छ। 

  

प्रतिक्रिया

सम्बन्धित खवर