काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सतारुढ दलहरुबीचमा भएको सहमतिअनुसार सरकारको नेतृत्व पुन: कांग्रेसको हातमा आउने दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै देउवाले संयुक्त सरकारमा पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको भन्दै कांग्रेसलाई बहुमत ल्याउनका लागि पार्टीका सबै संगठनहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता/कार्यकर्तालाई निर्देशन समेत दिए। सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पार्टीले गठबन्धन बनाउनुपर्ने बाध्यता रहेको पनि बताए।
उनले कांग्रेस पार्टीलाई मजबुद बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। ‘पार्टी प्रतिबन्धित अवस्थामा रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो’, उनले भने। सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेकोसमेत उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation