बर्दिया- बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु भएको छ। सोमबार बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।
बर्दियाको मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहोराले जानकारी दिए।
नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघले आक्रमण गर्ने गरेको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation