काठमाडौं- सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकोले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो।
आइतबार दुवै पक्षका तथा अन्य मुद्दाहरु समेत सँगै राखेर हेर्नेगरि सुनुवाइ हुने भएको सन्दीपका वकिल सरोज घिमिरेले बताए। संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका थिए।
नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।
अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा हुने त्रिदेशीय सिरिजका लागि नेपाली टिम शनिबार त्यसतर्फ जाँदैछ।
शुक्रबार सर्वोच्चले सन्दीपलाई विदेश भ्रमणको अनुमति नदिएपछि उनी बिनै नेपाली टिम त्यसतर्फ जाने भएको हो। नेपालले विश्वकप लिग-२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation