३१ वैशाख २०८१, सोमबार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

  • ८ फागुन २०७९, सोमबार
Image

काठमाडौं- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिजमा सोमबार नामिबियामाथि स्कटल्यान्डले सहज जित हात पारेको छ।

नेपालसमेत सहभागी सिरिजको आफ्नो अन्तिम खेलमा नामिबिया ४३ रनले पराजित भयो। टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले अलआउट हुनुअघि २२२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नामिबिया १७८ रन बनाउँदा अलआउट भयो।

जारी सिरिजमा नामिबिया आफ्नै चारै खेलमा पराजित भएको छ भने स्कटल्यान्डको पहिलो जित हो। सिरिजको अन्तिम खेल मंगलबार नेपाल र स्कटल्यान्डबीच हुनेछ।

सोमबार स्कटल्यान्डले नामिबियालाई हराएसँगै लिगको टप थ्रीको रेसमा रहेको नेपाललाई फाइदा पुगेको छ। लिग विजेता भइसकेको स्कटल्यान्डको भने ३५ खेलबाट ५० अंक पुगेको छ।

लिगको दोस्रो स्थानमा रहेको ओमानको सबै खेलबाट ४४ अंक छ भने तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलबाट ३७ अंक छ। नामिबियाले अब २ खेल खेल्न बाँकी छ। लिगको चौथो स्थानमा रहेको अमेरिकाको सबै खेलबाट ३५ अंक छ भने पाँचौ स्थानमा रहेको यूएईको २६ खेलबाट २७ अंक छ।

उसले अझै १० खेल खेल्न बाँकी छ। छैटौँ नम्बरमा रहेको नेपालको २७ खेलबाट २४ अंक छ। नेपालले भोलि स्कटल्यान्डसँग एक खेल खेल्नेछ भने बाँकी ८ खेल यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ।

नेपालले अब आफ्नै सबै खेल जिते लिगमा तेस्रो हुँदै सिधै विश्वकप छनोट खेल्न पाउनेछ। टप फाइभभित्र पर्न सके नेपालको एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम रहनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर