काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज आइतबार जेलमुक्त भएका छन्। २०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए।
सरकारको सिफारिसमा उनी जेलमुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीसहित ३९५ जना कैदीको सजाय माफ गरिदिएकी छन्। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चौधरी कैलाली-२ बाट निर्वाचित भएका हुन्। उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्।
चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। ट्र्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिबानासहितको फैसला गरेको थियो। कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्र्याक्टरमा २०६६ भदौ ३ गते आगजनी भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation