काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन्।
मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा अन्य उद्योगहरू भन्दा कृषिमा आधारित उद्योगको बिस्तार अर्थतन्त्रका लागि दिगो हुने बताए।
मौलिक संस्कृति परम्पराअनुसार घरेलु उत्पादनलाई प्रवर्द्धन र विकसित गर्न आवश्यक रहेको उनको भनाइ छ । कृषि उत्पादन वृद्धि गरी त्यसमा आधारित उद्योगको बिस्तार र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्य बनाउने परिकल्पना पूरा नहुने उनको भनाइ छ।
'कृषिमा आधारित उद्योगहरू नै नेपालका लागि सस्टेनेबल उद्योग हुनसक्छ। लघु घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो। हाम्रो मौलिक संस्कृति परम्परा त्यसलाई जर्गेना वा प्रवर्द्धन र विकसित गर्ने र नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गर्ने र त्यसैमा आधारित भएर उद्योग र रोजगारी सिर्जना गर्ने विषयमा उच्च प्राथमिकता नदिई हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको सपना देखेका छौँ, पूरा हुनसक्ने स्थिति छैन,' उनले भने ।
सबै नेपालीहरूको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको प्रचण्डको भनाइ छ। नेपालले ५० वर्ष पहिले खाद्यान्न निर्यात गरेको स्मरण गर्दै प्रचण्डले अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको बताए।
‘पहिलो कुरा हाम्रो सोचमा नेपालीपन बनाउन जरुरी छ। नेपालले ५० वर्षपहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका थियौँ। अर्बौं विदेशी रकम भित्र्याउने गरेका थियौँ तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर किन गयौँ। त्यसको खोजी गर्नुछ। त्यसको निम्ति सोच बदल्नु जरुरी छ,' प्रचण्डले भने।
राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको उनको स्वीकारोक्ति छ। घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न ऐनको अभावले पनि अफ्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको प्रचण्डको भनाइ छ।
उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखा परेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation