काठमाडौं- सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन-ओसारपसारसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।
अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष जेल सजाय सुनाएको हो। पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो।
यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन। तर अदालतले उनको सजाय निर्धारण पनि गरेको हो। यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दुरुपयोग गरेको अदालतको ठहर छ। पाण्डेलाई यसअघि नै मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिसकिएको छ।
यसअघि अदालतले बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए। उनले २०७९ जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्।
किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो। यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation