काठमाडौं- महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ।
लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो। नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्ने भएका छन्।
विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ। कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ।
कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ। कोषले महाशिवरात्रिको तयारीका काम सुरु गरिसकेको जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation