काठमाडौं- कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ। बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।
सभामुखका लागि दुईजनाको उमेदवारी परेको छ। सत्तारूढ दलका साझा उमेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ।
नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराएका छन्। एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो।
कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उमेदवारी दर्ता गराएका छन्। पोखरेल सुर्खेत क्षेत्र नम्बर–१ ‘क’बाट प्रत्यक्ष र गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation