काठमाडौं- बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। केन्द्रीय कारागारमा रहेका सन्दीप काठमाडौं जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्।
बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो। लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो।
सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ।
उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ।
अदालतले लामिछानेलाई उपत्यका छाड्न पनि रोक लगाएको छ। उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ। सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation