काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत काम क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि बताए।
यसअघि नै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई आफ्नो चाहना पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि गए कारबाही हुने स्पष्ट निर्देशन दिइसकेका छन्।
गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे। उनले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङ्गरुको कठ्याङ्ग्रिँदो चिसोसँगै तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर रहेको बताउँदै उनले क्षमताले भ्याएसम्म पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता जनाए।
'अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत सेवा गर्नु, खबरदारी र ड्युटी गर्नु देशप्रतिको सेवा र राष्ट्रभक्ति हो,' उनले भने।
गृहमन्त्री लामिछानेले मनमा जहिले पनि हामी थोरै छौँ तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोहीअनुसार कार्यसम्पादन गर्न पनि सुझाव दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation