८ कार्तिक २०८३, शनिबार

शेखर समूहको भेलामा बोलाइएनन् गगनलाई साथ दिएका विश्वप्रकाश र प्रदीप

  • १३ पुष २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले बोलाएको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल उपस्थित भएनन्। पार्टी संसदीय दलको निर्वाचनमा इतर समूहमा रहेका महामन्त्री गगन थापाको पक्षमा खुलेका शर्मा र पौडेललाई शेखर समूहले समूहको भेलामा नबोलाएको हो। 

संसदीय दलमा समर्थन गरेसँगै महामन्त्रीद्वय थापा–शर्मा र केन्द्रीय सदस्य पौडेल एकाकार भएर पार्टी राजनीतिमा अगाडि बढ्ने अनुमान गरिएका बेला इतर समूह उनीहरुको अनुपस्थितिमा छलफलमा जुटेको छ।  


मंसिर ४ मा सम्पन्न निर्वाचन र निर्वाचन पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न इतर समूहको बैठक बसेको हो।  बैठकमा पुस २२ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा समूहका तर्फबाट प्रस्तुत हुने विषयमा पनि छलफल हुने बताइएको छ। 

उक्त छलफलमा महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई भने नबोलाइएको इतर समूहनिकट स्रोतले जानकारी दिएको छ। नेता पौडेलनिकट स्रोतले पनि इतर समूहको भेलाबारे केही जानकारी नभएको प्रतिक्रिया दिएको छ। 

बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी छन्।

सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन टिकाउन नसकेको भन्दै इतर समूहका नेताहरु देउवाले राजीनामा दिनुपर्नेसम्मका अभिव्यक्ति दिँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर