९ कार्तिक २०८३, आइतबार

आहा रारा पोखरा गोल्डकपमा १० टिम, विजेतालाई १२ लाख पुरस्कार

  • १२ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- मोफसलको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कपको २२ औँ संस्करण बिहीबारदेखि हुँदैछ। २३ पुससम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ।

नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटानिज युथ स्पोर्टस क्लब अमेरिका, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब र आयोजक सहारा क्लब सहभागी हुनेछन्।

मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले उद्घाटन खेलमा धरान र सहारा क्लब खेल्ने जानकारी दिएको छ। योपटक पुरस्कार रकम बढाइएको छ। विजेतालाई यसपटक २ लाख रुपैयाँ बढाएर १२ लाख, उपविजेतालाई एक लाख बढाएर ६ लाख रुपैयाँ दिइने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।

उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई २५-२५ हजार रुपैयाँ पुरस्कार छ। म्यान अफ द म्याचलाई ८ हजार र फाइनलमा १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताबाट कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ।

प्रतियोगिताबाट बचत हुने रकम सहारा क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ। हाल एकेडेमीको तेस्रो ब्याचमा १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन्।

अघिल्लो संस्करणको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब बनेका थिए। यसपटक सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई दिइने भएको छ।

राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिने छ। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्टले उक्त पुरस्कार पाइसकेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर