काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्ति आधिकारिक नभएको पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले बताएका छन्। यसअघि जसपा अध्यक्ष यादवले 'एमालेसँगको तालमेलको औचित्य सकिएको' बताएका थिए। राईले अध्यक्ष यादवको भनाइ' व्यक्तिगत भएको बताएका हुन् ।
धरानमै मतदाताहरुलाई धन्यवाद ज्ञापनमा व्यस्त राईले सञ्चारकर्मी कुरा गर्दै पार्टीभित्र चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण नभई अध्यक्ष यादवले बोलेकाले त्यो व्यक्तिगत भनाइ भएको बताएका हुन्।
‘अध्यक्ष ज्यू (उपेन्द्र यादव) को भनाइ पार्टीको आधारिक धारणा नभएर व्यक्तिगत हो। पार्टीमा हामीबीच चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण र कुनै पनि आधिकारिक निर्णय भएको छैन। त्यसैले उहाँले बोल्नुभएको कुरा व्यक्तिगत हो ।’
एमाले र जसपा गठबन्धन गर्दा पनि सप्तरी-२ बाट चुनाव हारेपछि अध्यक्ष उपेन्द्र यादवले आइतबार एक कार्यक्रममा एमालेसँगको चुनावी तालमेल सकिएको धारणा राखेका थिए। तर, सुनसरी क्षेत्र नम्बर १ मा एमालेकै सहयोगमा जितेका अशोक राईले अध्यक्ष यादवको धारणाको खण्डन गरेका हुन्।
राईले केही दिनभित्र काठमाडौंमा छलफल गरेर कुन गठबन्धनमा लाग्ने भन्ने निष्कर्ष निकाले प्रस्ट्याए। राईले भने, ‘राजनीतिमा व्यक्तिगत कुरा गर्दा मजा आउँदैन। अब म तीन दिनपछि काठमाडौं पुगेपछि मात्र हामी सल्लाह गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने छौं। प्रदेशमा कसरी जाने र संघमा कसरी जाने भन्ने निर्णय गर्ने छौं।’
जसपा, राप्रपा र एमालेबीच चुनावी तालमेल गरेर मंसिर ४ गतेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation