२० वैशाख २०८१, बिहिबार

मेलम्चीको पानी बाह्रै महिना आउने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष प्रकाशमान नेतृत्वको टोलीको माग

  • २० मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै मेलम्चीबाट बाह्रै महिना पानी आउने व्यवस्था गर्न माग गरेको छ। काठमाडौंमा निर्वाचित भएका प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा सांसदहरूको टोलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर मेलम्चीको पानी हिउँद मात्र नभई बाह्रै महिना काठमाडौं ल्याउने गरी आयोजनास्थलमा काम गर्नुपर्ने माग राखेका हुन्। 

काठमाडौं-१ बाट निर्वाचित सिंहसहितको टोलीले मेलम्ची खानेपानी विकास समिति खारेज नगर्न र गर्ने नै भए वैकल्पिक व्यवस्था गरिहाल्न माग गरेका छन्। 

‘आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने,’ प्रधानमन्त्री देउवालाई सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोक हेलम्बुसहित पालिकाका बासिन्दासँग छलफल गरी विभिन्न विषयमा टुंगोमा पुग्नसमेत उनीहरूको माग छ। उनीहरूले सिएमसीले राखेका माग कानूनको परिधिभित्र रहेर सम्बोधन गर्न आवश्यक कार्य गर्नसमेत सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

साथै, मेलम्ची खानेपानी विकास समितिमार्फतका कर्मचारीको पारिश्रमिकलगायत विषय तत्काल सम्बोधन गर्न पनि उनीहरूले माग गरेका छन्। विकास समितिका ६१ जना कर्मचारीले गत साउनदेखि तलब खान पाएका छैनन्।

उनीहरूले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति धन्यबादसमेत दिएका छन्। साथै बाढीपहिरो पछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरी पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अघि बढाउन पनि उनीहरूले माग गरेका हुन्।

उनीहरूले अहिले खानेपानीको इन्टेक रहेको ठाउँ असुरक्षित भए/नभएको प्राविधिकबाट अध्ययन गरी/गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउन माग गरेका छन्। मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्न पनि उनीहरूको माग छ।

‘मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ। अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं। तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं। तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँ।’

डेलिगेशनमा काठमाडौं महानगरका वडा अध्यक्षहरु, प्रदेश तथा संघका सांसद्‌हरु, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका मेयरको उपस्थिति रहेको कागेश्‍वरीका मेयर उपेन्द्र कार्कीले जानकारी दिए। 


प्रतिक्रिया

सम्बन्धित खवर