काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा प्रश्न उठाएका छन्। उनले केही पार्टीको मत वृद्धि अस्वाभाविक भइरहेको बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले उक्त कुरा बताएका हुन्।
‘सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ उनले भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’
उनले जिल्लामा मतगणनास्थलमा रहेका कार्यकर्ताहरूलाई चनाखो हुन पनि भनेका छन्। साथै मतगणनामा प्रतिनिधि रहेकाले मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेज गर्न पनि अनुरोध गरेका छन्।
‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation