काठमाडौं- शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।
मधेस प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो। जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए।
त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे। बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो।
मधेश प्रदेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११ तथा राजेश यादवले १० रन बनाए। एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २/२ विकेट झारे।
भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने शनिबार हुनेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation