गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि घात गर्ने प्रवृत्तिले बेला बेलामा टाउको उठाउने गरेको बताएका छन्।
गोरखाको अजिरकोटको भच्चेकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विरोधी शक्तिलाई पुरै परास्त गर्नुपर्ने बताए।
‘यो गठबन्धन निर्वाचनका लागि बनाएको होइन। यो गठबन्धन जनताले ७० वर्ष लडेर ल्याएको संघीय लोकतान्त्रिक संविधान, समानुपातिक र समावेशी व्यवस्थालाई उल्ट्याउन खोज्ने, देशलाई फेरि सामन्ती व्यवस्थातिर धकेल्न खोज्ने, अँध्यारोतिर धकेल्न खोज्ने प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने क्रममा जन्मिएको गठबन्धन हो’ प्रचण्डले भने, ‘यो गठबन्धन बनाउनु राष्ट्र र लोकतन्त्रको आवश्यकता भयो। संविधानमा घात गर्ने प्रवृत्ति अझै पराजित भइसकेको छैन। बेला बेलामा टाउको उठाउन खोज्छ।’
पटक–पटक संसद विघटन गरेर मात्रै नभएर नागरिकता विधेयक राष्ट्रपतिबाट अनुमोदन नगराउनु समेत संविधान विपरीत भएको प्रचण्डले बताए। आगामी मंसिर ४ गते संविधान विरोध पश्चगामीलाई पुरै परास्त गर्नुपर्ने उनले बताए। गोरखाको भच्चक जस्तो ठाउँलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाएर पर्यटनको केन्द्र बनाउने समेत प्रचण्डले आश्वासन दिए।
‘यस भूगोलको सुन्दरता चियादेखि अलैंचीसम्मलाई व्यावसायिक रुपमा बिक्री गर्न सकिन्छ। अजिरकोट र भच्चेकको निकै ठूलो भविष्य देखेको छु। तपाईसँग मिलेर यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटनको हब बनाउने उद्देश्य छ’ प्रचण्डले भने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation