महेन्द्रनगर- राना थारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन। तर, पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन। 'हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन', उनले भने, 'तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो, अहिले अरूलाई देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो।' रानाका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ।
'हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ, यस दिन कुखुराको बलि दिने गरिन्छ', रानाले भने, 'अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ।'
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाका साहेब रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताए। 'हाम्रो परम्पराअनुसार त तिहारलाई दिवारीका रूपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो', उनले भने, 'गीतमा सुख, शान्ति आओस्, घरबाट राक्षस बाहिर जाओस् भन्ने हुन्छ।'
अहिले परम्परागत गीत छाडेर आधुनिक गीत गाउन थालिएको उनले बताए। 'एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नास होस् भनी घरको ज्येष्ठ महिलाले भगवान्को पूजा गर्ने चलन छ', रानाले भने, 'दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ।' पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको उनले बताए। यसबाहेक विभिन्न परिकारसमेत बनाउने गरिन्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation